एप्रिलाले जितिन मिस मंगोलको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं,४ पुष

मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । लामाले एक लाख रुपैयाँ र बैंकक यात्राको प्याकेज पनि प्राप्त गरेकी छिन् । एक्सन इन्टरट्रेनमेन्ट प्रा.लि.ले आयोजना गरेको यस प्रतियोगितामा ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक यात्रा प्राप्त गरेका छन् ।

यस्तै काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ घोषित भए । त्यसैगरी खोटाङकी सान्तवना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप घोषित भए ।

कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, मिस मंगोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई सम्मिलित निर्णायक रहेका थिए ।

एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०२१ मा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औं संस्करण हो ।