गोर्खा वारियर–२’ को छायाँकनमा नायक रितेश भिरबाट लडेर घाईते


 ब्युटी न्युज नेपाल
काठमाडौं, २९ मँसिर

चलचित्र गोर्खा वारियर–२ को छायाँकनको क्रममा अभिनेता रितेश चाम्स गम्भिर घाईते भएका छन् । उनी सिन्धुलीमा भिरबाट लडेर गम्भिर घाईते भएका हुन् । उनको यतीबेला सिन्धुली बजार स्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेकोसो चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्सले बताएका छन् । यो चलचित्रको बिगत २० दिन देखि सिन्धुलीको कमलामाई क्षेत्रमा छायाँकन भईरहेको थियो । रितेशको घाँटीमो गम्भिर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको निर्माता चाम्सले जानकारी गराएका छन् ।

घटनाबारे निर्देशक चाम्सले भने,‘चलचित्रको छायाँकनको क्रममा बुधबार बिहान अभिनेता रितेश भिरबाट झर्दै तल गहिरोमा पुगेर आक्रमण गर्नु पर्ने दृष्य थियो । सो क्रममा असन्तुलित भएर उनी भिरबाट लडेपछि रुखमा ठोकिँदै तल जमिनमा गएर बजारिँदा गम्भिर चोटलागेको हो ।’ अभिनेता रितेशको घाँटीमा गम्भिर चोट लागेकाले उनलाई कम्तिमा पनि १० दिनसम्म पूर्ण आरामसहित उपचार गर्न चिकित्सकले सल्लाह दिएको पनि निर्देशक चाम्सले बताएका छन् । निकै जोखिम दृष्य भएकाले स्टन्ट म्यानबाट त्यो दृष्य गर्नु पर्नेमा रितेशले आफैं गर्छु भन्ने हिम्मत जुटाएका थिए । तर असन्तुलित हुँदा उनी भिरबाट लडेको निर्देशक चाम्सले जानकारी गराए ।

चलचित्रमा द्धन्द्धको केही कठिन दृष्यका लागि भारतबाट प्राविधिकहरु बुधबार नै छायाँकन स्थलमा पुग्दैछन् । सोही कारण चलचित्रको छायाँकन रोक्न गाह्रो भएको पनि निर्देशक मिलन चाम्सले बताए । रितेसले उपचार गरिरहँदा अरुको छायाँकन सक्ने र उनी ठिक भएपछि उनको छायाँकन गर्ने पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए ।

‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीमा ९ मँसिरबाट सुरु भएको हो । यो चलचित्रमा रितेश चाम्ससँगै, बिजय लामा, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।

गोर्खा वारियर २ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ । नेपालको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि बिदेश लाग्ने छ । बिदेश अन्तर्गत बेलायत, भारत, मलेशिया लगायतका देशमा गोर्खा वारियर २ को छायाँकन गरिने छ ।