ब्युटी न्युज नेपाल
काठमाडौंँ, १६ मँसिर

‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । उनले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताए ।

‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाँहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ फिल्मको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो ।

निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।

कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ : ३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । अडिसन फिल्ममा करियर बनाउन चाँहने जो कोहीले दिन सक्नेछन् ।

फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । फिल्मको छायाँकन पुसबाट सुरु हुनेछ । फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते भने ।