‘गोर्खा वारियर–२’ को छायाँकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

बेलायतमा कोरोनाको कहर कम नभएपछि ‘गोर्खा वारियर–२’को नेपालको छायाँकन सुरु भएको छ । यो चलचित्रको बाँकी छायाँकन सिन्धुलीबाट बिहिबार देखि सुरु भएको निर्माता निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । बिहिबार बिहान सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर चलचित्रको छायाँकन सुरु भएको हो ।

अहिले छायाँकनमा मुख्य अभिनेता रितेश चाम्स र बिजय लामा रहेका छन् । त्यहाँ अहिले गोर्खाली सैनिकको युद्धका दृष्यहरु छायाँकन भईरहेको छ । द्धन्द्ध निर्देशक हिमाल केसीले युद्धको द्धन्द्ध निर्देशन गरिरहेका छन् । गत बैशाख अघि यो चलचित्रको ४० प्रतिसत छायाँकन सम्पन्न भएको थियो । अब नेपालको बाँकी छायाँकन सिन्धुली र तनहुँमा गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।

यो चलचित्रको सिन्धुलीको छायाँकन सेड्युल १८ दिनको राखिएको निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । सन्धुलीको सेड्युल सम्पन्न गरेपछि यो चलचित्रको युनिट बाँकी छायाँकनको लागि तनहुँको दमौली जाने छ । गोर्खा वारियर २ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ । नेपालको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि बिदेश लाग्ने छ । बिदेश अन्तर्गत बेलायत, मलेशिया लगायतका देशमा गोर्खा वारियर २ को छायाँकन गरिने छ ।

चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ ।
यो चलचित्रको रेड कार्पेट प्रिमियर बेलायतमा गरिने भएको छ । बेलायतकै सबैभन्दा ठुलो मानिएको रोयल अल्बर्ट हलमा १० हजार दर्शकबीच यो चलचित्रको रेड कार्पेट प्रिमियर सन २०२२ मा गरिने र त्यसपछि यो चलचित्र विश्वव्यापी रुपमा रिलिज गरिने निर्माता निर्देशक चाम्सले बताएका छन् ।