ब्युटी न्युज नेपाल
काठमाडौं, ८ मँसिर

निर्देशक दीपेन्द्र लामा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनको निर्देशनमा पाँचौं फिल्म ‘घुइँचो’ बन्ने भएको छ । फिल्मको छायांकन आगामी माघ १५ देखि हुनेछ । आफ्ना अघिल्ला फिल्महरुजस्तै यो पनि सोसियल ड्रामा जनराको हुने निर्देशक लामा बताउँछन् ।

यो फिल्मको काठमाडौंका पाँचतारे एक होटलमा घोषणा गरिएको छ । रामजी दैलेखीको निर्माण रहने ‘घुइँचो’बाट कुन्साङ बम्जनले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । यसअघि उनले म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङ गर्दै आएका थिए । म्युजिक भिडियोबाट फिल्ममा जम्प गर्नेको सूचीमा उनको नाम थपिएको छ ।

नेपाली फिल्म उद्योगमा राम्रा कलाकारको निकै अभाव रहेको बताउँदै निर्देशक लामाले भने, ‘कुन्साङले राम्रो काम गर्नसक्यो भने हामीलाई मात्र होइन, पूरै इन्डस्ट्रीलाई फाइदा हुनेछ । सशक्त कलाकार बनेर स्टारहरुको साँघुरो घेरालाई भत्काउन सकोस्, हामी यही चाहन्छौं ।’
एलिजासँग यसअघि दुईपटक काम गर्ने प्रस्ताव आए पनि समय अभावका कारण जुर्न नसकेको र अहिले जुरेपछि काम गर्न लागिएको पनि लामाले बताए । यसअघि ‘अनुराग’ नामक फिल्म खेलेकी एलिजा पनि हिजोआज म्युजिक भिडियोमै व्यस्त छिन् । एलिजाको भूमिका दर्शकका लागि सरप्राइज हुने खालको रहने लामा अवगत गराउँछन् ।

फिल्मको कथा र टिम मन परेर आफूले ‘घुइँचो’लाई डेब्यु फिल्मका रुपमा छानेको कुन्साङ बताउँछन् । कलेजमा केही नाटकहरु खेलेकोले अभिनय गर्नसक्छु भन्ने आत्मविश्वास आफूमा रहेको उनको तर्क छ । साथै फिल्मको छायांकनअघि वर्कसपमार्फत् आफूलाई थप मजबुत बनाउने योजना उनको छ ।

पहिलो फिल्म ‘अनुराग’ सोचेजस्तो सफल नभए पनि त्यसले आफूलाई धेरै कुरा सिकाएको एलिजाको बुझाइ छ । उनी ती अनुभव र सिकाइलाई ‘घुइँचो’मा प्रयोग गर्ने पक्षमा छिन् । आफूलाई पर्फेक्ट देखाउन आफू जस्तो पनि मिहेनत गर्न तयार रहेको उनले बताउँछिन् ।

निर्माता दैलेखी निर्देशक लामाको यसअघिको फिल्म ‘छ माया छपक्कै’को सफलताबाट प्रभावित थिए । त्यसैले पनि आफूले निर्देशकका रुपमा लामालाई छनोट गरेको उनी बताउँछन् । फिल्म राम्रो बन्नेमा उनी निर्धक्क छन् ।

नेपालको कर्णाली क्षेत्रमा छायांकन हुने ‘घुइँचो’का केही दृश्यको छायांकन अमेरिकामा पनि गरिने योजना छ । गाउँका पात्रहरु अमेरिकासम्म पुग्ने कथा फिल्ममा रहेको निर्देशक लामा अवगत गराउँछन् ।