पालो मिडिया अवार्डको


ब्युटी न्युज नेपाल
काठमाडौं, २ मँसिर

सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उदेश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ । ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको काठमाडौंमा एक कार्यक्रम मार्फत औपचारिक घोषणा गरियो ।

‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको सो अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । ‘टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ ।’ आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीले भने,‘उल्लेखित विधा बाहेक भुगोलतर्फको सात प्रदेशबाट २,२ जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउनु हुने दुई विशिष्ठ सञ्चारकर्मीलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरिनेछ ।’

नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पुर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्ने आयोजकले बताएको छ । कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यो प्रकारको काममा महासंघ सहकार्य गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

पौष २३ मा आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना प्रदान गर्न वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, वरिष्ठ सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी, नेपाली फिल्म अभिनेता रमेश उप्रेती लगायत पत्रकारितासँग प्रतिनिधित्व गर्ने दर्जनबढि संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।