ब्युटी न्युज नेपाल
काठमाडौं, १ मँसिर

अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरुलाई लक्षित गर्दै ‘मेरो भ्वाइस कप यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा गरिएको हो । नृत्य र गायन सम्बन्धिको यो दुई वटा रियालिटी शोको नयाँ संस्करण काठमाडौंमा पाँच तारे एक होटलमा आयोजित समारोहबीच मँगलबार राती घोषणा गरिएको हो ।

यो दुबै रियालिटी शोको आयोजना इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले गर्दै आएको छ । फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पत्रकार सम्मेलनमा कार्यक्रमबारे भने,‘त्यहाँ रहेका नेपाली युवा युवतीले आफ्नो भाषा संस्कृति नबिर्सिउन र उनीहरुको प्रतिभाको समेत उजागर होस भनेर हामीले ३ वर्ष अघिबाट मेरो डान्स कप युएसए र अघिल्लो वर्षबाट मेरो भ्वाईस कप युएसए आयोजना गर्दै आएका छौं । यी दुबै प्रतियोगितामा प्रतियोगीले नेपाली गीत गाउनुका साथै नेपाली गीतमा नृत्य प्रस्तुत गर्छन ।’ यी दुबै प्रतियोगिताको सुरु आगामी जनवरीबाट गर्ने पनि अधिकारीले जानकारी दिए ।

फाउन्डेशनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संकृतीको संरक्षण र प्रवद्र्धन गर्दैै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संकृतीको जागरुकता ल्याउनु रहेको बताए । अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परपम्परा, भाषा, रितीथिती नछाडेको बताए । यही सोेचका कारण २ रियालिटी शो सुरु गरिएको अधिकारीको भनाई थियो ।


‘मेरो डान्स कप यूएसए ४’कोे निर्णायकमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, नृत्य निर्देशक शंकर वीसी र नृत्य कलाकार नरमान राई रहेका छन् ।

‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल चयन भएका छन् । अरु निर्णायकको चयन चाँडै गरिने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् । यो प्रतियोगिताबाट आफुले पनि केही सिक्ने उनको विश्वास छ ।

पहिलो सिजनबाटै मेरो डान्स कपका निर्णायक रहँदै आएका अभिनेता दीलिप रायमाझीले अमेरिकन आईडलमा समेत नेपाली कलाकारहरु उत्कृष्ट भईसकेको अबस्थामा अमेरिका र क्यानडामा निकै राम्रा नेपाली प्रतिभाहरु रहेको बताए । बिगतको भन्दा यस पटकको प्रतियोगितामा अझ धेरै र राम्रा प्रतियोगी सहभागी हुने विश्वास उनले रायमाझीले व्यक्त गरेका छन् ।

यस्तै भ्वाईस अफ नेपालका कोच प्रमोद खरेलले मेरो भ्वाईस कपमा सहभागी हुन अमेरिका र क्यानडामा रहेका नेपाली प्रतिभाहरुलाई पत्रकार भेटघाट मार्फत आह्वान गरेका छन् ।

यो फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।