कमेडी ‘चुरीफुरी’ पुष ९ मा देशभर


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कार्तिक

हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्देशक ऋषिराज आचार्यले आफ्नो फिल्म प्रदर्शनको मिति पक्का गरेका हुन् । उनका अनुसार दर्शकले आगामी पुष ९ गते अर्थात डिसेम्बर २४ मा देशभरका हलमा ‘चुरीफुरी’ हेर्न पाउने छन् ।

चलचित्र पत्रकार संघ, दाङ शाखाले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा ‘चुरीफुरी’ को प्रदर्शन मिति तय भएको जानकारी निर्देशक आचार्यले दिएका हुन् । दसंैका लागि गृहजिल्ला, दाङ गएका निर्देशक आचार्यले आफ्नो फिल्म डिसिएनले बितरण गर्ने बताए । दाङ शाखा अध्यक्ष शिब पुनको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रममा कोरोना महामारीका कारण थलीएको नेपाली फिल्म क्षेत्रलाई बिउत्याउनका लागि निर्माता,वितरक तथा हल ब्याबसायिहरु एक हुनुको बिकल्प नभएको तथ्य औल्याए ।

निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको फिल्ममा नवकलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त,सोना बज्राचार्य,रिन्जिन गुरुङ र राजीवजंग बस्नेत अहम् भूमिकामा छन् भने फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ तथा ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मी आचार्य,सरिस्मा मगरलगायतले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिब थापा छन् । राहुल राईले खिचेको फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् भने भिमफेदी गाइजको कोरियोग्राफी,बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ ।