ब्युटी न्युज नेपाल
काठमाडौं २४ असोज

एक समय दर्शकले मनपराएको पात्र ‘इकु’ सानोपर्दामा फर्किएको छ । टेली सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ फर्किएको हो । ‘इकुपिताङ’को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको हो । इकुको रुपमा कलाकार सुलेमान शँकर लामो समयदेखि दर्शकमाझ विभिन्न पर्दामा आईरहेको छन् ।

यस पटक पनि दर्शकको माग हनुसार सानो पर्दाबाट आएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए । सुलेमानले आफ्नै अफिसियल युट्युव च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् । बालकदेखि बृद्धसम्मले मनपराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अवदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनेछन् । ‘दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि देखिन पाउदा निकै खुसी लागेको छ । फेरि एक पटक ‘इकु’ बनेर दर्शकलाई भरपुर मनोरञ्जन दिनेछु’ सुलेमानले भने ‘दर्शकले सँधै भन्नुहुन्थ्यो इकु कहिले हेर्न पाइन्छ ।’ दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको सुलेमानले सुनाए ।

यो सृँखलामा ‘इकु’ को भुमिका सुलेमान नै छन् । यस अगाडि पनि अन्य सिरियलमा यो भुमिका उनले नै निर्वाह गरेका थिए । सुलेमानको अलवा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिनेछ । राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन सिरियलमा रहेको छ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत सिरियलमा छ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । पहिलो पटक ‘इकु’ हास्य सिरियल मेरी बास्सैमा देखिएको थियो ।

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’