बिहे भा छैन भन्दै आए आकाश र पूजा

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नृत्य प्रधान गीतको भिडियो दशैंको अबसर पारेर सार्वजनिक गरिएको छ । बिहे भा छैन…बोलको यो गीतमा आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेका छन् । गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो रिलीजमा आएलगत्तै दुई लाख ६० हजार बढीले हेरिसकेका छन् भने दर्शकले यसको तारिफ गर्दै सकरात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रुप दिएका छन्। उनले आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् भने दीपकराज सुनारले त्यस्तै ढंगले नचाएका छन्। पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ।

गीतमा शव्द रचना एसपी सापकोटाको रहेको छ। संगम बुक्स पब्लिकेशनको अध्यक्षसमेत रहेका उनले यसअघि एकै घरका सन्तान हामी, हिजोसम्म नसोचेको जीवन पाएँ आज, सबको भलो कर्म गर्न पाए हुन्थ्यो, मान्छेबाट मान्छे निचाजस्ता सार्थक गीतहरु रचना गरी बजारमा ल्याईसकेका छन्। कर्म नामक एलबममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाएका छन्। संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ।

गीतकार सापकोटाले चाडबाडमा नाचगान गरेर रमाउन चाहनेहरुका लागि यो गीत राम्रो कोसेली हुने बताए । त्यसै गरी म्युजिक भिडियोका निर्देशक कविराज गहतराजले गीत डान्सिङ शैलीको भएकाले म्युजिक भिडियो पनि सोहीअनुसार तयार पारिएको बताए।