हिमालबाट हिउँ र पत्थरको मुटु सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

गायक प्रमोद खरेल र मेलिना राईको स्वरमा रहेको गीत ‘हिमालबाट हिउँ पग्लि…’ भिडियो रिलिज भएको छ । यो गीतमा सुरेश अधिकारीले संगीत गरेका हुन् । शुक्रबार काठमाडौंमा एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्व अर्थमन्त्री तथा गीतकार एसपी कोईरालालगायतले यो गीतका चिन्तामणि सापकोटाको गीति पुस्तक ‘पत्थरको मुटु’ यो म्युजिक भिडियो सँयुक्त बिमोचन गरे ।

नेपाल राष्ट्र बैंकबाट डप्युटी गर्भनर समेत भएर अबकास प्राप्त गीतकार सापकोटाले अहिले गीत रचनामा देखाएको उत्साह सराहनीय भएको कुलपति उप्रेतीले कार्यक्रममा बताए । यस्तै पूर्व अर्थमन्त्री कोईरालाले आफु गीतकार भएको हिसाबले सापकोटाका गीतको समीक्षा गर्दा गीतहरु प्रभावशाली भएको बताए । उनले सोही कार्यक्रममा सार्वजनिक गरिएको भिडियो पनि देशभक्ति भावले ओतप्रोत छ भने ।

चिन्तमणि सापकोटाले लेखेको गीत ‘हिमालबाट हिउँ पग्लि…’ को भिडियोलाई चलचित्र निर्देशक अभिनेता आकाश अधिकारीले निर्देशन गरेका हुन् । तराईदेखि हिमालसम्म पुगेको यो भिडियोको छायाँकन गरिएको अधिकारीले सो कार्यक्रममा बताए ।

भिडियोमा आकाश अधिकारी, नीता ढुंगाना, धिरेन शाक्य, शिब श्रेष्ठ, सुनिल कटुवाल, एसपी कोईराला सहित विभिन्न व्यक्तिहरुको अभिनय रहेको छ । अभिनेत्री निता ढुँगानाले पनि राष्ट्रिय भावको गीत भएकाले यो गीतमा काम गरेर देशका लागि केही दिन सकेको महसुस भएको बताईन् ।

राष्ट्रिय भावना र सन्देशले ओतप्रोत रहेको गीत पछिल्लो राजनीतिक परिस्थितिमा झनै सान्दर्भिक हुने विभिन्न बक्ताहरुको बिमोचन कार्यक्रममा बताए । यो गीतको भिडियोलाई ओएसआर युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।