रमेश दियालीले ल्याए नयाँ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार तथा मोडल रमेश दियालीले आफ्नो नयाँ गीत रिलिज गरेका छन् ।
अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर सार्वजनिक गरिएको हो । उनको माया प्रेमले भरिएको नविनतम गीत आशा राखी मनको एउटा पत्र कोरी छोडी दिएँ…शुक्रवार ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कुशल आख्यानकार समेत रहेका दियालीले यो गीत रचना गरेका हुन् । जसमा सुरेश अधिकारीले संगीत भरेका छन् । नेपालमा रेकर्ड गरिएको गीतमा बानिका प्रधानको स्वर छ ।

गीतको म्युजिक भिडियो फिल्मी शैलीमा तयार पारिएको छ । अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको माया प्रेमको कथा छ । म्युजिक भिडियो लक्ष्मण दियालीले निर्देशन गरेका छन् । छायांकन बिनोद लाम्गदेको छ। यो आकर्षक म्युजिक भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियारले लोभलाग्दो अभिनय गरेका छन् ।

भुटानी मुलका नेपाली युवा दियालीले दर्जनौं गीत रचना गरेका छन् । थुप्रै म्युजिक भिडियोमा मोडलिङसमेत गर्दै आएका छन् । उनले छाप्रो नं. ५५ नामक उपन्यासबाट अन्तराष्ट्रिय पुरस्कार चुमेका छन्। उनको यो कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलेसर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार प्रदान गरेको हो । भुटानी शरणार्थीकै विषयमा लेखिएको छाप्रो नं. ५५ ले धेरैको मन जितेको थियो।