ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

भानु जयन्तीको अवसर पारेर वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले आफ्नो नयाँ कृति बहत्तर वसन्त बजारमा ल्याएका छन् । उनको यो छत्तीसौँ कृति हो । पुस्तकको नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिक रूपमा लोकार्पण गरेका छन् । लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिए । गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु सिग्देलको मौलिक क्षमता हो ।

सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीय स्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ ।

छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले बहत्तर वसन्त पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने कुरा प्रकाशक पुष्पराज पौडेलले सो क्रममा बताए । शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् । यसको मूल्य २०१ रुपैयाँ तोकिएको छ ।