बलिउड बरिष्ट अभिनेता दीलिप कुमारको निधन


एजेन्सी
मुम्बई, २३ असार,

बलिउडका बरिष्ट अभिनेता दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको छ । परिवार श्रोतका अनुसार दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो । यतीबेला उनको अन्त्यष्टीको तयारी हुँदैछ । दिलीप कुमारले करिब २२ वर्षको उमेरमा फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए ।करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।

उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।