ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

चलचित्र विकास २१ औं स्थापना दिवस बुधबार बोर्डको हलमा एक कार्यक्रम गर्दै मनाएको छ । नेपाली चलचित्र क्षेत्रको विकास,विस्तार र प्रबर्धनका लागि बिक्रम संवत २०५७ साल आषाढ १६ गते चलचित्र विकास बोर्डको स्थापन भयो। बोर्डको स्थापना दिवसको अवसरमा बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको थियो। कोरोना महामारीका कारण यस बर्ष पनि राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने कार्य रोकियो।

गत बर्ष पनि राष्ट्रिय चलचित्र पुरस्कार रोकियको थियो। स्थापना दिवसको अवसरमा बोर्ड अध्यक्ष दयाराम दाहाल र बोर्डका कर्मचारीहरु मात्र उपस्थित भएर शुभकामना आदान प्रदान गर्ने कार्य गरिएको छ।

दयाराम दाहाल बोर्ड अध्यक्ष भएर आय देखि नै चलचित्र बजार शुन्य जस्तै छ। २०७६ साल चैत्र ६ गतेबाट बन्द रहेका चलचित्रहल बिचमा केहि महिना खुलेका थिए, अहिले फेरी बन्द रहेका छन्। बोर्ड अध्यक्ष दयाराम दाहाल नियुक्त भएर आए पश्चात नीति निर्माणका कामहरु उलेख्य रुपमा भएको छ। स्थापना दिवसको अवसरमा विकास बोर्ड अध्यक्षले एक बर्षमा बोर्डले गरेका महत्वपूर्ण कार्यहरुको जानकारी गराएका छन्।

मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने उदेश्यका साथ विकास बोर्डले स्टोरी बैंकको स्थापना गरेको छ । ११ सदस्य रहेको मस्यौदा समितीले स्टोरी बैंक कार्यविधी २०७७ पनि तयार पारेको छ । यो बैंकका लागि प्राप्त भएका चलचित्रहरु मध्येबाट प्राप्त ५ वटा मौलिक चलचित्रलाई राज्यले सुविधा दिनेछ । मौलिक छनोटमा नपरेका चलचित्रमा कसैले लगानी गर्न चाहे पनि राज्यले केही सुविधा उपलब्ध गराउनेछ ।

आगामी बर्ष स्टोरी बैंकको दायरा अझै फराकिलो हुनेछ। चलचित्र कर्मी विपद ब्यबस्थापन कोषको सुरुवात भएको छ। यस कोषले बिपदमा परेका चलचित्रकर्मीहरुलाई राहत प्रदान गर्ने छ। प्रोजेक्ट बिमा सम्बन्धि कार्यबिधि निर्माण र कार्यान्वयनमा आएको छ। डेढ करोड सम्मको लगानीमा बन्ने चलचित्रको प्रोजेक्ट बिमाको लागि लाग्ने शुल्क बोर्डले तिरी दिनेछ। निर्माण प्रदर्शन वितरण जाने चलचित्रलाई बोर्डबाट उपलब्ध गराउने सहयोग सम्बन्धि कार्यविधि निर्माण र कार्यान्वयन भई सकेको छ। गत बर्ष प्रदर्शनमा आएका ४ वटा चलचित्रले यो सुबिधा प्राप्त गरि सकेका छन्।

श्रमजिवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तरगत ६० बर्ष उमेर कटेका श्रमजीवि चलचित्रकर्मीलाई राज्य बट भत्ता सुबिधा दिने नीति पास हुने क्रममा रहेको छ। कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्र सम्बन्धि पढाइ हुने भएको छ। आगामी शैक्षीक सत्रबाट अब पठन पाठन पनि सुरु हुने छ।

नेपाली चलचित्र छायाँकनको लागि अत्याधुनिक इन्डोर स्टुडियोको आबस्यकतालाई मध्यनजर गर्दै काठमाडौँबाट नजिकै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माणको काम अघि बढेको छ। डिपिआर तयार भई सकेको छ। अत्याधुनिक इन्डोर स्टुडियोको निर्माण अबको ६ महिना भित्रै सुरु हुनेछ।