थप अन्तर्राष्ट्रिय हवाई उड्यान खुल्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा जुटेको छ । कोरोनाको महामारीमा केही कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस्तो तयारीमा जुटेको हो ।

मन्त्रालयले आगामी साताबाट सबै अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा दुईवटासम्म नियमित उडान खुला गर्ने भएको छ । हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेका अनुसार अब नेपालमा हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा कम्तीमा सातामा एकदेखि दुईवटासम्म उडान भर्ने प्रस्ताव गरिएको छ ।

हाल कतार, भारत र टर्कीमा मात्रै सिमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिईएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)सहितको मुलुकमा उडान खोल्ने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय आउनुपर्ने भएकाले पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै निर्णय आउने अनुमान गरिएको उनको छ ।

उनले अब यस प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत गरेर सम्बन्धित वायुसेवालाई उडान सञ्चालन गर्न दिइने तयारीमा मन्त्रालय जुटेको जानकारी दिए । लामिछानेका अनुसार पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय आयो भने थप अन्तर्राष्ट्रिय उडान खुल्नेछ । जसका लागि आगामी सोमबारसम्ममा निर्णय आइसक्ने छ ।

यसअघि गत बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पनि धेरै नेपाली कामदार भएका मुलुकमा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निणर्य गरेको छ । सोही निणर्यको आधारमा अहिले यस मन्त्रालयले पनि यस्तो तयारी थालेको उनले जानकारी दिए ।

यस्तो निषेधाज्ञासँगै सरकारले गत २० वैशाखबाट आन्तरिक र गत २३ वैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । भारतमा सातामा दुईवटा उडान भने निषेधाज्ञामा पनि जारी थियो । टर्की र कतारमा भने गत २० जेठदेखि मात्र सातामा दुईवटासम्म नियमित उडान खुला गरिएको थियो ।