अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ जुनबाट


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ यहि १७ जुनबाट सुरु हुने भएको छ । २० जुनसम्म अनलाइन माध्यमबाट यो महोत्सब हुने छ । अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको यो महोत्सब यसटक भर्चुअलबाट हुने भएको छ ।

चार दिन सम्म संचालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने आयोजकले जानकारी गराएका छन् । जुनको १७ तारिक बिहिबार साँझ भर्चुअल रुपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ। महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निशुल्क हेर्न सकिनेछ। प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ ।