रामकृष्ण र मेलिनाको स्वरमा उमेशको ‘सुनसरी इनरुवा’

ब्युटी न्युज नेपाल
काठमाडौं, २८ जेठ

युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रिएशन गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा ल्याएका छन्।

अमेरिकामा बसेर नेपाली सुगम संगीतमा लागिपरेका उनले यो गीतमा आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णन गरेका छन् । माया–प्रेमका भावनाको पनि ब्याख्या गरिएको यो गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ रेकर्ड गरी म्युजिक भिडियो निर्माण गरिएको रेग्मीले बताए।

दशक अघि उनले आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत निकालेका थिए । अहिले भने उनले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा युगल गीतको रुपमा गीत तयार गरेका छन्।

युवराज वाईवाको निर्देशन तथा निलास पौडेलको छायाँकनमा इनरुवाका बिभिन स्थलहरु सहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । गायक रामकृष्ण ढकाल र मोडल रिमा बिस्वकर्माको अभिनय हेर्न सकिन्छ ।

विकास दाहालले सम्पादन गरेको भिडियो संगीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ।