प्रेमध्वज र केन्जुमाको गीत ति आँखामाको कभर गायन प्रतियोगिता


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

अग्रज गायक प्रेमध्वज प्रधानको स्मृतिमा एशियन म्युजिक कम्पनीले प्रधानको गीतको खुला गायन (कभर सङ) प्रतियोगिता आयोजना गर्दैछ । प्रधानको गत महिना निधन भएको हो । गीत रेकड गर्न छाडेको ८ वर्षपछि एशियन म्युजिकको गीत ति आँखामा…बाट गायक प्रेमध्वज प्रधान २०७३ सालमा पुन गायनमा फर्किएका थिए । यसपछि गायक प्रधानले एउटा गीतिसँग्रहसँगै केही फुटकर गीत पनि पछिल्लो समय नयाँ गीतिसँग्रहको तयारीमा जुटेका उनले गत चैतदेखि लकडाउनकै कारण नयाँ गीत रेकर्ड गरेर सँग्रह निकाल्न पाएनन् ।

यसरी उनको पछिल्लो सपना पुरा नभएको अबस्थामा प्रधानको स्मृतिमा ति आँखामा…गीतको गायन प्रतियोगिता राखिएको आयोजक इश्वर गुरुङले जानकारी गराएका छन् ।

गीतकार डब्बु क्षत्रीले लेखेको यो गीतमा जुगल डँगोलको संगीत रहेको छ । यो गीतलाई अग्रज गायक प्रधान र गायिका केन्जुमा सुब्बाले गायको हो । यो गीतलाई ६ वर्ष अघि एशियन म्युजिक च्यानलबाट सार्वजनिक गरिएको थियो ।

कभर सङ प्रतियोगितामा उत्कृष्ट हुनेलाई एउटा गीत रेकर्ड गराएर सो गीतको भिडियो समेत बनाईदिने घोषणा सो कम्पनीले गरेको छ । एशियन म्युजिकको युट्युव च्यानलमा अहिले ती आँखामा गीतको ट्रयाक राखिएको छ । सो ट्रयाकबाट दुई जना (एक पुरुष र एक महिला)ले युगल गीत गायर आगामी १५ असार भित्र एशियन म्युजिकमा पठाउनु पर्नेछ ।

जसमध्यबाट आफुहरुले उत्कृष्ट स्वर छानेर सो गीतलाई पुरस्कृत गरिने भएको छ । आफुहरुले यसरी गीतलाई नयाँ पुस्ताको स्वरमा रेकर्ड गर्दा अग्रज दिवँगत गायक प्रेमध्वज प्रधानप्रति सही श्रद्धासुमन अर्पण हुने पनि आयोजक इश्वरले बताएका छन् ।