‘इकुपिताङ’ ल्याउदै सुलेमान शंकर ‘इकु’

ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ जेठ

बालबालिकाको लागि आश्रम चलाएर बसेका सुलेमान शँकर अर्थात इकुले सबै दर्शकको लोकप्रिय पात्र ‘इकु’ फेरी ल्याउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानोपर्दामा उनी फेरी इकु बनेर प्रस्तुत हुँदैछन् ।

यो टेली श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् ।

ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दा समेत दर्शकले मनपाराएका थिए ।

श्रृखलामा सुलेमानका साथमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृखलामा समेटिएकोछ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्ला रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाख्दा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ ।’

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाई रहेकोछ ।

राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृखला असार दोस्रो साताबाट प्रसारणमा आउँनेछ सुलेमानले बताए । श्रृखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्न निकै आर्कषक छ ।