रक्सी चोरेको आरोपमा तीन प्रहरी निलम्बित


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

ड्युटीको बेला प्रहरीलेृ चोरी गरेको खबर यहाँहरुलाई विश्वास नलाग्न सक्छ । लाहानमा यस्तै भएको छ । प्रहरी पनि चोलीमा सम्लग्न भएको आरोप लाग्दा सिराहाको तीन प्रहरी निलम्बनमा परेका छन् । उनीहरुलाई रक्सी चोरेको आरोप लागेको छ ।

रक्सी चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय सिराहाले एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् ।

प्रहरी प्रवक्ता शालिग्राम शर्माका अनुसार लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको पनि प्रवक्ता शर्माले बताए ।

गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।