सरकारको कामकाज रोक्न राज्यका अँगलाई बिपक्षीको आग्रह


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

ओली सरकारको कामकाज रोक्न विपक्षी दलहरुले अभियान सुरु गरेका छन् । राज्यका सबै अंग र निकायहरुलाई सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन विपक्षी गठबन्धनले आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ । संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सँयुक्त बिज्ञप्तिमा लेखिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’ उनीहरुले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।