नेपाली फिल्म ‘गुराँस’ले जित्यो नेदरल्यान्डको १४ लाख बराबर स्क्रिप्ट फन्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

निर्माणधिन नेपाली चलचित्र ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । सौरभ राईको निर्देशनमा नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ । यो बाहेक संजय गुलाटी पनि यो फिल्मको निर्माणमा साझेदार रहनेछन् ।

आइसफल प्रमुख रामकृष्ण पोखरेलले खबर पुष्टि गर्दै फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराए । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो । निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए ।

पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो । त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो ।

‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो । बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने सोचमा छौँ ।’