माधव, झलनाथसहित ११ नेतालाई एमालेबाट निष्काशन


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

पार्टीलाई २४ घन्टा भित्र स्पष्टीकरण नदिएको भन्दै नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्काशन गरेको छ । सोमबार बेलुका एमालेले यस्तो निर्णय गरेको हो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधव कुमार नेपाल र झलना खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशनको निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शनिबारको स्थायी कमिटीको निर्णयअनुसार उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । तर ११ जनाले नै जवाफ नदिएपछि निष्काशनको निर्णय भएको एमालेले जनाएको छ । नेपाल सहित ४ नेतालाई पहिला पनि पार्टीबाट निलम्बन गरिएको थियो ।