ओली बिरुद्ध आज पाँच पार्टीले सर्वोच्चमा रिट हाल्दै


ब्युटी न्युज नेपाल
काठमाडौं ८ जेठ,

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर राष्टपति विधादेवी भण्डारीको सहयोगले प्रतिनिधि सभा भँग गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भन्दै उनीहरु बिरुद्ध आज आईतबार पाँच राजनीतिक पार्टीले सर्वोच्चमा रिट दायर गर्ने भएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवन ल्होत्से हलमा बसेको विपक्षी गठबन्धनमा आबद्ध पाँच दलको संयुक्त बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध ‘राजनीतिक तथा कानुनी लडाइँमा अघि बढ्ने’ निर्णय गरेको उनीहरुले एक विज्ञप्ति मार्फत बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र–बाबुराम पक्ष, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चासहितको संयुक्त बैठकले मुद्दा र सँयुक्त आन्दोलनको निर्णय गरेको हो । उनीहरु अब प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक तथा कानुनी लडाइँमा उत्रने निस्कर्षमा पुगेका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृण खाँणका अनुसार गठबन्धनमा आबद्ध १ सय ४९ सांसदको हस्ताक्षर र नागरिकतासहित पाँच दल आज सर्वोच्च जाँदै छन् । गठबन्धनमा रहेका पाँचै दलले आइतबार आफ्नातर्फका सांसदलाई नागरिकतासहित हाजिर हुन भनेका छन् । खाँडले सांसदलाई नागरिकतासहित बोलाइएको जानकारी दिएका छन् ।

‘प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर निन्दा र भत्र्सना गर्दछौं,’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बद्नियतपूर्ण किसिमले प्रतिनिधि सभा विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको’ विपक्षी गठबन्धनको निष्कर्ष छ ।