अष्टलक्ष्मी सहित नेपाल पक्षका बागमती प्रदेश सांसदलाई कारवाहीको प्रकृया


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

नेकपा एमालेमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीचको धु्रविकरण फेरी बढेको छ । ओली खेमाका राष्ट्रिय सभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाई बिहिबार सम्पन्न निर्वाचनमा मतदान नगरको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यी सबै माधव नेपाल खेमाका हुन् ।

उनीहरुमाथि राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाईएको छ ।

यी प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताएका छन् । यो कारवाहीले जोडिने कोशिश भईरहेको ओली र नेपालको सम्बन्ध झनै बिग्रने पक्का जस्तै भएको छ ।