देउवा र ओली दुबैको प्रधानमन्त्री पद दाबी राष्ट्रपति भण्डारीद्धारा खारेज


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस अध्यक्ष शेरबहादुर देउवाको प्रधानमन्त्री पदको दाबी अश्विकार गरेकी छिन् । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका ओली र देउवाको दाबीको आधार नपुगेको भन्दै दुबैको दाबी रेज गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरात विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको जनाएकी हुन् । विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन्।

निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपालपक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। त्यस्तै ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका थिए।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्ने ओली र देउवा दुवैको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको नाम जुधेको उल्लेख गरेकी छन्। त्यस्तै शुक्रबार एमालेको ओली पक्षले नेपालपक्षका सांसदहरुलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भएको तथा ओलीलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा)का महन्ठ ठाकुर पक्षले देउवालाई समर्थन गरेका उपेन्द्र यादव पक्षलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भएको उल्लेख गरेकी छन्।