सपथमा त्यो पर्दैन भन्नुको कारणबारे सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ,

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन अघि सपथग्रहणको क्रममा राष्ट्रपति विद्यादेबी भण्डारीसँग अनादर गरेको लगायत अन्य विषयमा यतीबेला सर्वोच्च अदालतमा विभिन्न रिट परेका छन् । सो रिटमाथि सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग मँगलबार लिखित जवाफ माग गरेको छ ।

वुन प्रधानमन्त्री नियुक्ती भएपछि केपी शर्मा ओलीलाई पाँच दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । यस्तै उनले इश्वर भन्ने शब्द पनि उचारण गर्न मानेका थिएनन् । सपथ ग्रहणको क्रममा राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउन खोज्दा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

यसरी देश र जनताको नाममा प्रधानमन्त्रीले प्रतिज्ञा गर्दछु भनेर सपथ लिन नमानेकोलाई कानून व्यबसायीहरुले संविधान विपरित भन्दै त्यसको निन्दा गरेका छन् ।

यही बिषयमा सोमबार सर्वोच्च अदालतमा चार वटा फरक फरक रिट दर्ता भएको थियो । ती विभिन्न चारवटा रिटमाथि मँगलबार दिउँसो सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा फरक फरक रिट दायर गरेका हुन् ।

यस विषयमा प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यदी उनले यो मुद्धा हारेको खण्डमा फेरी सपथ लिनु पर्ने हुन्छ ।