कोरोना सँक्रमणबाट चलचित्र निर्देशक चेतन कार्कीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौ, २ जेठ

कोरोना सँक्रमणका कारण अस्पतालमा भर्ना भएका चलचित्र लेखक, निर्देशक, गीतकार तथा साहित्यकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोरोनाको उपचार गराईरहेका कार्कीको आइतबार बिहान निधन भएको हो ।

कार्कीले निर्माण नियन्त्रकबाट चलचित्र यात्रा सुरु गरेका थिए । शाही नेपाल चलचित्र सँस्थान गठन भएपछि उनी निर्माण नियन्त्रकबाट लेखन तर्फ लागे । सो क्रममा उनले चलचित्र परिवर्तनबाट फिल्म लेखन सुरु गरेका थिए । कार्कीले विश्वास, भूमरी, पहिलो प्रेमजस्ता फिल्मको निर्देशन गरेका थिए । उनले परिवर्तन, सिन्दूर, जीवनरेखा, माया प्रिती, कान्छीलगायतका दर्जनौं फिल्म लेखेका थिए।

उर्दु भाषाको साहित्य लेखनमा समेत निपूर्ण उनका विभिन्न उपन्यास कृतिहरु पनि छन् । उनी गीत लेखनमा पनि त्यतिकै सक्रिय थिए । गण्डकी भेकका लोक संस्कृतिका विज्ञका रुपमा चिनिएका कार्कीको अन्त्यष्टीको तयारी भईरहेको परिवार श्रोतले जनाएको छ । परिवारमा उनका श्रीमती र दुई छोरा रहेका छन् ।