देशभरका अस्पतालमा  अक्सिजनको अभाव


ब्युटी न्युज नेपाल/ सरिता भारती
काठमाडौं, २८ बैशाख

केही दिन यताबाट नेपालमा दोश्रो भेरिन्ट कोरोनाको महामारी निकै बढेको छ । जसका कारण बिरामीको चाप बढेसँगै अस्पतालमा अक्सिजनको अभाव भएको छ । प्राण बायुको रुपमा परिचित अक्सिजनको अहिले आपूर्ती भन्द माग दोब्बर जस्तै भएको छ ।
जसका कारण अक्सिजनको अभाव भएको भन्दै अस्पतालले कोरोनाका बिरामीको भर्ना समेत लिन छाडेका छन् ।

मँगलबारबाट भक्तपुर जिल्ला अस्पतालले अक्सिजनको अभाव भयो भन्दै कोरोनाको नयाँ बिरामी लिन छाडेको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् । परदेश स्तरीय भनिएको भक्तपुर अस्पतालले यस्तो समस्या देखाएको छ । यस्तै भक्तपुरकै नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा पनि भर्ना भएका कोरोनाका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । किनकी त्यहाँ यतीबेला अक्सिजनको अभाव भएको छ ।

सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेको छ । त्यसपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुईदिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ । भक्तपुरमा अक्सिजनकै अभावले दुई जना विरामीको ज्यान पनि गईसकेको छ ।

भक्तपुर मात्र हैन, यतीबेला अधिकाँस अस्पतालको अबस्था यस्तै भएको छ । सुविधा सम्पन्न भनिएको ललितपुरको भसैपाटी स्थित मेडिसिटी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै सूचना निकालेको छ । आफुहरुले कोरोना सँक्रमित थप बिरामीलाई अहिलेको अबस्थामा अक्सिजन दिन नसक्ने सो अस्पतालले बिज्ञप्ती मार्फत जनाएको छ ।

सुविधा सम्पन्न भनिएको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले आजबाट कोरोना सँक्रमित बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो । एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

उता काठमाडौंको अर्को सुविधा सम्पन्न ओम अस्पतालमा पनि अहिले अक्सिजनको अभाव छ । ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ । उसले चार दिन अघि नै सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।

यस अघि कोरोना सँक्रमितको उपचार गर्दै आएको ललितपुरको जाउलाखेल स्थित अल्का अस्पतालले पनि आफुहरु अक्सिजनको अभावको समस्या खेपिरहेको बताएको छ । सो अस्पतालले पनि अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन सकेको छैन ।

चावहिलको मेडिकेयर अस्पताल लिमिटेडले पनि आफुहरुले यतीबेला अक्सिजनको अभाव भोग्नु परेको बताएका छन् । बिरामीको चापसँगै कोटा प्रणालीबाट प्राप्त अक्सिजनले गर्दा थप बिरामी लिन गाह्रो भएको सो अस्पतालले जनाएको छ ।

नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ ह्यान्डले पनि यतीबेला अक्सिजन अभाव झेलिरहेका छन् । यी अस्पतालमा अक्सिजनको अभाव रहेको उनीहरुले बताएका छन् ।

नेपालकै ठुलो मध्यको अस्पताल मानिएको काठमाडौंका त्रिबिबी शिक्षण अस्पताल महाराजगञ्जमा समेत विरामीले अक्सिजनको लागि पालो कुर्नु पर्ने अबस्था आएको छ । त्यहाँ बेडको अभाव भएपछि सोमबारबाट कोरोना युनिट अस्पतालको बरान्डादेखि बाहिर चौरसम्म बिरामीहरु भरिएका छन् । बेड नपाएपछि कतीपय बिरामीले ह्विल चेयर र स्टुलमै बसेर उपचार गर्नु परेको छ । अक्सिजनको अभाव भएपछि एउटै अक्सिजन दुई जनाले प्रयोग गर्नु परेको छ । कोरोना सँक्रमित बिरामी निको हुनेको भन्दा पनि भर्ना हुनेको सँख्या बढेपछि आफुहरुले भनेजति अक्सिजनको सेवा पुर्याउन नसक्ने अबस्था आएको सो अस्पतालले जनाएको छ ।

यतीबेला काठमाडौं जस्तै काठमाडौं बाहिरका शहरमा पनि अक्सिजनको हाहाकार भईरहेको छ । पोखरा लगायत बाँकी अधिकाँस शहरमा कोरोनाको बिरामीले भनेजति अक्सिजन पाएका छैनन् । बुटबलको प्रादेशिक कोरोना अस्पतालले पनि अक्सिजनको अभाव भएको जनाएको छ । त्यहाँका अन्य अस्पतालले अक्सिजनको अभाव भएको भन्दै दुई दिन यताबाट बिरामी भर्ना समेत लिन छाडेको छन् । त्यहाँ पनि अक्सिजनकै अभावले कोरोनाको बिरामीले यतीबेला ज्यान गुमाउनु परेको छ ।

धनगढीमा भएको मालिका अक्सिजन उधोगको मेसिन बिग्रिएपछि बर्दिया, कैलाली, कन्चनपुरका अस्पतालमा मँगलबार बिहानैबाट अक्सिजनको अभाव भएको छ । त्यहाँका अस्पतालले पनि अहिले अक्सिजन नभएकाले कोरोनाका बिरामी भर्ना लिन सक्दैनौ भनेर हात उठाएका छन् । बाँकेमा बिरामीको अत्याधिक चाप बढेपछि त्यहाँ अक्सिजनको अभाव देखिएको छ ।

धनगढीको मात्र हैन, मागभन्दा बढी उत्पादन गर्नु पर्ने अबस्था आएपछि नेपालका कतीपय अक्सिजन कारखानाको मेसिन धमाधम विग्रन थालेका छन् । अहिले उत्पादन भईरहेको भन्दा बढी अक्सिजन उत्पादनको लागि सरकारले अक्सिजन कारखाना सञ्चालकहरुलाई दवाव दिईरहेको छ । त्यसैले सबैले उत्पादन क्षमता अहिले बढाउनु परेको हो । जसका कारण ओभर लोडले मेसिन बिग्रन थालेपछि अक्सिजनको उत्पादनमा समस्या देखिन थालेको छ । अर्को तर्फ कारखानाले अक्सिजन उत्पादन गर्दै आए पनि अक्सिजन भर्ने सिलिन्डरको कमीले पनि अक्सिजनको अभाव भएको देखिन्छ ।

तीन दिन यताबाट मुलुकमा अक्सिजनको समस्या हुनसाथ कोरोनाबाट मृतकको सँख्या दोब्बर जस्तै भएको छ । मँगलबारमात्र कोरोना सँक्रमणबाट २२५ जनाको मृत्यु नेपालमा भएको छ । जसमध्य कतिपयले अक्सिजन समयमा नपाएर ज्यान गुमाउनु परेको हो ।

अहिले अक्सिजन सेवाको लागी हरेक क्षेत्रबाट प्रयास भईरहेको छ । सरकारले कोरोना संक्रमित उपचारमा आवश्यक अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक छन् ।

सँयोजक श्रेष्ठले आफुहरु अक्सिजनको व्यबस्थाका लागि सोमबारबाटै सक्रिय भएको बताएका छन् । अस्पतालको माग अनुसारको अक्सिजन व्यबस्थापन गर्न आफ्नो टोली राजदिन क्रियासिल रहेको र खाली भएका सिलिन्डरलाई चाँडो भन्दा चाँडो अक्सिजन भरेर अस्पताल पुर्याउने कार्य भईरहेको पनि उनले बताएका छन् ।