पल र पुजासँग हल्का हल्का भन्दै राजेश र करिश्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फेरी नयाँ गीतको भिडियोमा जोडी बनेर प्रस्तुत भएका छन् । नयाँ गीत हल्का हल्का लजाएर…को भिडियोमा यी नायक नायिका जोडी बनेर प्रस्तुत भएका हुन् । यो गीतलाई गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको स्वरमा रेकर्ड गरिएको छ । गीतलाई चन्द्र प्रसाईंले लेखेका हुन् । जसमा सन्तोष श्रेष्ठले संगीत रहेको छ । बियोगान्त गीतको सँगीतमा रुची राख्ने श्रेष्ठले पछिल्लो समय यस्ता नृत्य भावको रोमान्चक गीतमा संगीत सृजना गरेर आफुलाई यो धारमा पनि सफल संगीतकारको रुपमा उभ्याउन थालेका छन् । यो गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।

यो गीतको राजेश हमालको सहयोगी वेटरका रुपमा पल शाह र अभिनेत्री करिश्मा मानन्धरको सहयोगीका रुपमा पूजा शर्मा प्रस्तुत भएका छन् । पल र पूजा शर्मालाई पनि जोडीका रुपमा प्रस्तुत गरिएको छ । राजेशलाई सेफको रुपमा र करिश्मालाई राजेशको परिकारको पारखीका रुपमा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भए पनि भिडियोलाई अन्त्यमा वियोगान्त शैलीको बनाईएको छ । पल पनि सेफकै सहयोगीका रुपमा प्रस्तुत छन् । करिश्मा र राजेश, पूजा र पललाई जोडी बनाएर गीतमा नचाईएको छ ।

भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ । इनाक्षी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट यसलाई रिलिज गरिएको छ ।