विधानले पुजाकै अगाडी आँचललाई आकाशको जोडी बनाएपछि


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश अधिकारी एकपछि अर्को फिल्ममा जोडी बनेर प्रस्तुत हुँदै आए पनि एउटा म्युजिक भिडियोमा पुजाकै अगाडी आकाश भने आँचलको जोडी बनेका छन् । गायक रोशन अधिकारीले ल्याएको भिडियोमा रोशनले नै पुजा रोजेपछि आकाशले आँचलको जोडी बन्नु परेको हो ।

यता लक डाउनको बीच म्युजिक भिडियोको रिलिज भने उत्साहजनक रुपमा भएको छ । यही मेसोमा गायक रोशन अधिकारीले आफ्नो नयाँ गीत धारै नखोली…को भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा रोशनलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतलाई दिनेशराज पुरीले लेखेका हुन् । जसमा अर्जुन पोखरेलको संगीत रहेको छ । लोक शैलीको यो गीत कर्णप्रिय बनेको छ । गीत अनुसारको भिडियो पनि आकर्षक बनेको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र आँचल शर्मासँगै अभिनेता आकाश श्रेष्ठ एकसाथ प्रस्तुत भएका छन् । गीतको भिडियोमा गायक रोशन आफैं पनि पुजा शर्माको नायकको रुपमा प्रस्तुत भएका छन् । आकाशलाई आँचलको जोडी बनाएर प्रस्तुत गरे पनि निर्देशक कार्कीले गीत अनुसारको भावलाई भिडियोमा न्याय गरेका छन् । शुभचिन्तकहरुले पुजा र आकाशको जोडी भिडियोमा हेर्न माग गरेको प्रतिक्रिया प्रसस्त आए पनि निर्देशकले आकाशको जोडी आँचल र पुजाको जोडी रोशन बनाएर केही फरक पनि दिन खोजेका हुन् । आकाश र पुजा चलचित्रमा जोडी हुनु भन्दा अघि नै चलचित्र ब्लाक मार्फत आँचल र आकाश जोडी भईसकेकाले पनि विधानले यस्तो प्रयोग गरेको हुनुपर्छ ।

भिडियोमा यी कलाकारलाई नृत्य निर्देशक सुरेन्द्र बसेलले सजिलो तरिकाले नचाएका छन् । उनको कोरियोग्राफीमा त्यति धेरै मेहनत परेको र कन्सेप्ट प्रयोग गरेको भने देखिँदैन । भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् । जसमा विकास दाहालको सम्पादन छ । गीत कर्णप्रिय भएको र भिडियो नृत्यप्रधान बनेकोले यसलाई दर्शकले रुचाउने आशा गरौं ।