दोश्रो नाट्यश्वर अवार्ड सम्पन्न, सरितालाई सर्वोत्कृष्ट चाडपर्व गीत गायिकाको अवार्ड


ब्युटी न्युज नेपाल
नुवाकोट, २६ माघ

नाट्यश्वर म्युजिक अवार्डको दोस्रो संस्करण आइतबार सम्पन्न भएको छ । नुवाकोटको बिदुर स्थित ढुँगेमा सम्पन्न सो अवार्ड समारोहमा २०७५ र ०७६ मा रिलिज भएका विभिन्न गीतहरुलाई अवार्ड प्रदान गरिएको छ । प्रल्हाद केसीको सभापतित्व र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा अवार्ड सम्पन्न भएको हो । अवार्डको संयोजन किरण अधिकारीले गरेका हुन् ।

यस अघि राष्टिय नृत्य प्रतियोगिता, गायन प्रतियोगिता सहित थुप्रै कार्यक्रम आयोजना गर्दै आएको नाट्यश्वर कला केन्द्र एन्ड इभेन्ट म्यानेजमेन्टले दोश्रो नाट्यश्वर अवार्ड पनि भव्यताका साथ सम्पन्न गरेको छ । सो अपार्ड समारोहमा विभिन्न गीत, संगीत सहित अन्य गरेर ४८ विधामा अवार्ड प्रदान गरिएको थियो । गायन तथा सङ्गीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट सर्वोत्कृष्ट भएकाहरूलाई अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ । गीत संगीत तर्फ राष्टिय, आधुनिक, लोक, चाडपर्व विशेष, आधुनिक, म्हेन्दो मायाँ जस्ता विधाका गायक, गायिका, संगीतकार, मोडललगायतलाई अवार्ड प्रदान गरिएको थियो ।

सो अवार्ड समारोहमा सुन्दर पन्तले मेरो देशबाट उत्कृष्ट राष्टिय गीतको, गंगा प्रसाद घिमिरेले बिन्दास जिउने हो गीतबाट उत्कृष्ट काठे भाका लोक दोहोरी गायकको, सिता थापाले नौलो गाउँ गीतबाट उत्कृष्ट काठे भाका लोक दोहोरी गायिकाको अवार्ड चुमे ।

यस्तै चर्चित गायिका सरिता भारतीले यसपालीको दशैं गीतबाट वर्षको सर्वोत्कृष्ट चाडपर्व विशेष गीत गायिकाको अवार्ड जितिन् । यस्तै सर्वोत्कृष्ट नितिन गजुरेलले आँखैले हेर्यो गीतबाट सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड र मञ्जु थापाले हातमा गुलाव देखाएर गीतबाट सर्वोत्कृष्ट आधुनिक गीत गायिकाको अवार्ड प्राप्त गरे ।

यस्तै पप तर्फ चिरञ्जिबी भण्डारीले सँगै बस्दा गीतबाट सर्वोत्कृष्ट पप गीत गायकको र लक्ष्मी पुरी प्रधानले सिट्ठी बजाउँदै गीतबाट सर्वोत्कृष्ट पप गीत गायिकाको अवार्ड र दीपक शर्माले बोल्दैन फोटो गीतबाट सर्वोत्कृष्ट पप संगीतकारको अवार्ड हाँसिल गरे ।

कार्यक्रममा लोकदोहोरी विधाबाट मा लै…गीतबाट कृष्ण रेउले गायकको र रिमला न्यौपानेले गायिकाको अवार्ड चुमे । लोक दोहोरी मोडलको अवार्ड मोडल दिपाशा बिसी र टिका जैसीले प्राप्त गरेका छन् ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । उनलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै गीतकार डब्बु क्षत्रीलाई गीत लेखन विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको थियो । सोही क्रममा कला एवम् रङ्ग पत्रकारितामा कलाम चलाएर संस्कृति तथा संरक्षणमा सहयोग गरेको भन्दै पत्रकारहरू निमेष गौतम, बाबुराम सिग्देल, देवचन्द्र भट्ट, दीपज्योति थापा र राममणी ढकाल सम्मान गरेको थियो ।

पत्रकारलगायत विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै प्रमुख अतिथि नेता अर्जुन नरसिंह केसीले कलाकारहरू राष्ट्रका गहना भएको र सञ्चार माध्यमले पनि देश विदेशमा सन्देश दिएर थप चिनाउन मद्दत गरेको बताए । ‘कलाकारहरुले देशको सौन्दर्य बढाएका छन्, जहाँ पनि गीत सङ्गीतको आवश्यकता पर्दछ र पत्रकारहरूले पनि विभिन्न सञ्चार क्षेत्रबाट कलम चलाएर देशविदेशमा सन्देश दिएर कलाकारहरूलाई चिनाउन मद्दत गरेका छन्’, उनले भने ।

‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयेजना गरिएको थियो । ०७६ मा नै आयोजना गर्नुपर्ने कार्यक्रम विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएर अहिले गरिएको संयोजक अधिकारीले जानकारी दिए । यसभन्दा अगाडिको कार्यक्रम काभ्रे जिल्लाको बनेपामा आयोजना गरिएको पनि उनले जानकारी दिए ।