नेपाल अफ्रिका फिल्म फेस्टिबलमा बियोन्डोले फुलबुट्टे गाउँदा सबै दँग


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

चर्चित नेपाली गीत फुलबुट्टे सारीको कोभर अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा जब गाईन । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली देखि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालसम्मसम्म दँग देखिए ।
काठमाडौंको नाचघरमा शुक्रबारबाट सुरु भएको नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ को उद्घाटन समारोहमा गायिका बियोन्सेले फुलबुट्टे सारी गीत गाएर दर्शकको मन जितेकी हुन् ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा सुरु भएको यो महोत्सबको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे । मन्त्री ज्ञवालीले यस्ता महोत्सबले नेपाल अफ्रिकाको सम्बन्ध सँधै राम्रो हुने बताए । यस्तो अबस्थामा पनि सामाजिक दुरी कायम गरेर नवौ वर्षदेखिको महोत्सबलाई निरन्तरता दिनु आयोजक संस्थाको सराहनीय कार्य भएको मन्त्री ज्ञवालीले बताए । विभिन्न अफ्रिकन मुलुकका सिनेमा खोजेर महोत्सब गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीले बताए । नेपाली चलचित्र निर्माताहरुको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दुताबास मार्फत अन्तराष्ट्रिय नेपाली फिल्म महोत्सब आयोजना गर्ने योजना बनाईरहेको पनि मन्त्री ज्ञावलीले जनाए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाईलाई समर्थन गर्दै सरकारले बिदेशमा रहेका नेपाली दुतावास मार्फत चलचित्र महोत्सब गर्नेबारे आफुहरुले पहल गर्दै आएको जानकारी गराए । यस्तै नेपाल अफ्रिका चलचित्र महोत्सबसँग बोर्ड सुरु देखि नै जोडिएको र यस्तो महोत्सबले नेपाली चलचित्रको विकाशमा ठुलो मद्धत पुग्ने बताए । अहिले कोभिडका कारण सिनेमा हल बन्द भएकाले सरकारले बोर्डलाई आर्थिक सहयोग गर्नु पर्ने माग पनि उनले मन्त्रीसँग सो कार्यक्रममा राखे ।

कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले आफु सुरुका दिन देखिनै नेपाल अफ्रिका फिल्म महोत्सबसँग नजिक रहेको र महोत्सबमा सांस्कृतिक संस्थानले पनि सहकार्य गर्दै आएको बताए ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले अफ्रिका र नेपाललाई सांस्कृतिक रुपमा जोड्न नै नियमित रुपमा यो महोत्सब गर्दै आएको आयोजक संस्था कलेज अफ जर्नालिज्मकी अध्यक्ष डा. मञ्जु मिश्रले बताईन् । कोभिडको सन्त्रास बीच पनि पूर्ण सामाजिक दुरी कायम गर्दै आफुहरुले महोत्सब आयोजना गरिरहेको उनले जानकारी गराईन् ।

यो महोत्सबमा १२ बैशाख आईतबार बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रबारे कार्यशाला आयोजना गरिने महोत्सब निर्देशक डब्बु क्षत्रीले बताए । सुरुका दिनमा अफ्रिकन सिनेमा जुटाउन निकै गाह्रो भए पनि अहिले महोत्सबमा निकै राम्रा नेपाली र अफ्रिकन फिल्म सहभागी हुने गरेको पनि क्षत्रीले बताए । महोत्सबमा यसपटक ८ वटा नेपाली लामा छोटा चलचित्र र ९ वटा अफ्रिकन चलचित्र रहेको पनि क्षेत्रीले जानकारी गराए ।

महोत्सबमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्न लोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते । पत्रकार एवम् चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, अभिनेता प्रदीप बास्तोला र गायिका एवम् सञ्चारकर्मी सरिता भारतीलगायतको निर्णयक समुहले महोत्सबमा नेपाली चलचित्र चयन गरेको थियो ।

काठमाडौंको जमल स्थित नाचघरमा जारी यो महोत्सब आईतबार १२ बैशाखसम्म तीन दिन चल्ने छ । महोत्सबमा नेपाल र अफ्रिकाको गरेर १५ वटा लामा छोटा चलचित्रले सहभागिता जनाएका छन् ।

महोत्सबमा चयन भएका १५ वटा चलचित्र मध्य शुक्रबार पहिलो दिन पाँच ओटा चलचित्र प्रदर्शन गरियो । जस मध्य पाँच वटा चलचित्र शुक्रबार देखाईयो । शुक्रबार महोत्सबको उद्घाटनमा जिम्वावेको चलचित्र गुड म्यान प्रदर्शन गरियो । इजिप्टको चलचित्र बबल्स र ड्राई हट समर, नामिभिया एवम् ब्राजिलको फिल्म बडी गेम प्रदर्शन गरियो । हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र आमा पनि शुक्रबार महोत्सबमा प्रदर्शन गरिएको थियो ।

महोत्सबमा शनिबार माधवराज खरेलको दुर्गामाण्डु सहित गणेशजँग रावलको समस्या, सजल लोप्चनको गाईड र पुरुषोत्तम बस्नेतको चलचित्र सुरक्षा प्रदर्शन गरिँदैछ । यस्तै शनिबार नै पाँच वटा अफ्रिकन चलचित्र पनि प्रदर्शन गरिँदै छ ।