गायक बिक्रमजँगले ज्यानलाई भो खतरा भन्दै शिल्पासँग गरे रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

गायक बिक्रमजंग शाहले आफ्नो नयाँ गीत ज्यानलाई भो खतरा…को भिडियो दर्शकमाझ ल्याएका छन् । शुक्रबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको हो । गो गीतमा बिक्रमजंगसँगै गायिका अन्जु पन्तको युगल स्वर रहेको छ । लेखु सहयात्रीको शब्द सिर्जना रहेको गीतमा सुवाष भुषालको संगीत गरेका हुन् । पुरुषोत्तम सुवेदीको संगीत संयोजन यो गीतमा रहेको छ ।

सम्झना उप्रेती रौनियारको निर्देशनमा यो गीतको भिडियो तयार भएको छ । रौनियारले गीतको भिडियोलाई मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा छायाँकन गरेकी छिन् । म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट रहेको छ । भिडियोलाई गोबिन्द राईले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र नव मोडल रविन्द्र रिमालको अभिनय रहेको छ ।

गीतको भिडियोमा गायक शाह आफैं पनि मोडलको रुपमा प्रस्तुत भएका छन् । यस अघि चलचित्रमै नायकको रुपमा प्रस्तुत भएका शाहले भिडियोमा कुनै नायकको भन्दा कम अभिनय गरेका छैनन् । भिडियोमा अभिनेत्री शिल्पा पोखरेलको अभिनय पनि राम्रो छ ।

सार्वजनिक गीतलाई लिएर गायक शाह निक्कै उत्साहित छन् । आफुहरुले मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोशेली पस्किने कोशिस गरेका उनले गीत सार्वजनिक कार्यक्रममा बताए । आफ्नो गीतलाई दर्शकले रुचाउने विश्वास उनले कार्यक्रममा व्यक्त गरे । अघिल्लो गीत खोलाखाल्सी निकै लोकप्रिय भएपछि गायक शाहले यतीबेला यो नयाँ गीत ल्याएका हुन् ।

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतको भिडियोको दृष्याँस उतार्नका लागि टिकटक प्रयोगकर्तालाई मोडल बनाउने अवसर समेत शाहले अघि सारेका छन् । उनका अनुसार गीतले टिकटक प्रयोगकर्ताको लागि सुवर्ण अवसर ल्याएको छ । यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइने शाहले बताएका छन् । यो सुवर्ण अवसर प्राप्त गर्नलाई यो गीतमा टिकटक बनाएर ह्याजट्याग ज्यानलाई खतरा लेखेर पोस्ट गर्नु पर्नेछ ।