आनन्द र अन्जुको गीतमा आकाश र उमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत त्यो तिम्रो चोखो प्रेम…को भिडियो दर्शकमाझ आएको छ । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको यो भिडियोलाई शुक्रबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललगायतले यो गीतको लोकार्पण गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले गीति भिडियोको प्रसँसा गर्दै नेपाली चलचित्र क्षेत्र र यसको चलायमान तथा श्रीवृद्धिका लागि नेपाल उद्योग बाणिज्य महासंघ सधै साथमा रहने प्रतिवद्धता जनाए । चलचित्र क्षेत्रले पनि उद्योगको मान्यता पाएको र अब यसको विकासका लागि महासंघ समेत जिम्मेवारी हुने भन्दै चलचित्र उद्योगका समस्याहरु हल गर्न आफु पनि लागिपर्ने अध्यक्ष गोल्छाले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले रारा ताल आसपास छायाँकन गरिएको गीतले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कोभिडको मारमा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन यस्तै खालको कार्यक्रमहरुको आवश्यकता रहेको भन्दै चलचित्रकर्मीलाई भिडियो चलचित्र, गीत, छोटो चलचित्रहरु बनाईरहन आह्वान उनले कार्यक्रममा गरे ।

गीतको भिडियोमा अभिनेता निर्देशक आकाश अधिकारी र अभिनेत्री उमा गिरी मुख्य भूमिकामा रहेका छन् । उमा गिरी बेबी निर्मात्री रहेको भिडयोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र विछोडको चरणलाई देखाइएको छ । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् ।

नेपाली सेनाहरु आफ्नो परिवारलाई छोडेर देशका लागि बलिदान दिन तयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ । देशका लागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ । यस्तै भिडियोमा नेपाली सेनाको संस्कारलाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जसमा नेपाली सेनाको भुमिकामा आकाश अधिकारी देखिएका छन् । भिडियोमा नेपाली सेनाहरुको कथालाई ससक्त रुपमा समेटिएको छ ।