डा. डी.आर. उपाध्यायले बनाए ५१ वटा विश्व रेकर्ड

सरिता भारती, ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

एक, दुई हैन, नेपालका एक श्रष्टाले ५१ वटा फरक विधामा फरक फरक विश्व रेकर्ड बनाएका छन् । यो अदभूत कार्य गर्ने नेपाली गीतकार डा. डि. आर (धर्मराज) उपाध्याय हुन् । उनले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी समेत बनाएका छन् । विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर कर्तिमानीको पनि महाकिर्तीमानी बनाएका हुन् ।

डा. डि.आर।ले फेरी गीतसँगीत सम्बन्धि थप १९ वटा विधामा नयाँ रेकर्ड सोमबार बनाएर ५१ वटा विधामा नयाँ विश्व रेकर्ड बनाएका छन् । डा. उपाध्यायले यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्ड सहित विभिन्न रेकर्ड बनाएका थिए । यी श्रष्टाले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा विश्व किर्तिमानी बनाएका हुन् ।

सोमबार राजधानीमा एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे । सो कार्यक्रममा उपाध्यायको विश्व किर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसँग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकापर्ण गरे ।

यस पटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्यक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् । यस्तै ५५ वटा फरक फरक फुलको नाममा गीतलेखि रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गरी बनाई रेकर्ड गरेर उनल नयाँ किर्तीमानी बनाएका हुन् । यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकरात्मक सोचमा फाईदासम्बन्धि गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ किर्तिमान कायम गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले यसरी गीत संगीत सम्बन्धि ५१ वटा विश्व रकेर्ड राख्ने डा. उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्य जति प्रसँसा गर्दा पनि कमै हुने भनाई पूर्व प्रधानमन्त्री चन्दको थियो ।

पूर्व मन्त्री रामेश्वर राय यादबले पनि आफ्ना स्कुले साथी एवम गीतकार साहित्यकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा अर्का वक्ता डा. सुरेन्द्र केसीले राज्यले भ्रस्ट फटाहाहरुलाई तक्मा बाँढेको बेला एक नेपाली श्रष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यँग्य भएको बताए । उनले आफ्ना किर्ती र विश्व रकेर्ड मार्फत नेपाली र नेपाली सँगीतलाई विश्वमाझ पुर्याएको पनि उनले बताए ।

श्रष्टा डा. डि आर उपाध्याले हामी नेपालीहरु पनि साहित्य तथा गीत सँगीत सृजनामा विश्वका श्रष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफुले यस्तो रेकर्ड बनाएको बताए ।

यो रेकर्डमा संगीतकार सागर अधिकारी (सरद) र सन्तोष श्रेष्ठले उपाध्यायका गीतमा संगीत सृजना गरेर साथ दिएका हुन् । यी दुबै श्रष्टाले आफ्नो सृजनाबारे सो कार्यक्रममा प्रकाश पारे ।

यस्तै गीतकार चुडामाणी देवकोटाले पनि डा. उपाध्यायको यो अनौठो किर्तीमानीले नेपाललाई विश्वमा नेपाली गीतसंगीतबाट चिनाउने थप अबसर मिलेको भन्दै डा. उपाध्यायलाई बधाई ज्ञापन गरे ।

विश्व रकेर्ड प्रमाणपत्र प्रधान गरिने सो कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत सुनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए । डा. उपाध्यायका अन्य किर्तीमानी तथा सृजना र कृतिबारे कार्यक्रम सहजकर्ता सञ्चारकर्मी नरेश भट्टराईले प्रकाश पारेका थिए ।