‘लेकाली दाई’, भिडियोमा निलम आफैं गायिका, नायिका (भिडियोसहित)

ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ बैशाख

गायिका निलम रोजु राईले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । उनी सँगीतकार र गीतकारसमेत हुन् । निलमले ‘लेकाली दाईको क्या माया लाग्छ’ बोलको गीत तथा भिडियोलाई नेपाली नयाँ वर्षको अवसर पारेर आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘निलम रोजु राई’मार्फत सार्वजनिक गरेकी हुन् ।

यस भिडियोको नौलो पक्षचाहिँ भिडियोमा गायिका निलमलाई नै मोडलका रुपमा प्रस्तुत भएकी छिन् । भिडियोमा लेकाली दाईको बयान गरेपनि उनी एक्लै देखिएकी छन् । भिडियोलाई नियोन लामाले निर्देशन तथा छायाँकन गरेका हुन् ।

सार्वजनिक गीतमा निलमकै शब्द, संगीत र स्वर रहेको छ । गायनमा भन्दा बढी संगीतमा व्यस्त रहँदै आएकी निलमले आफ्नो यो पछिल्लो गीतलाई आधुनिक लोक फ्लेवरमा तयार गरेकी छन् ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय पूर्वेली लोक फ्लेवरको ट्रेण्ड छ । गायिका तथा गीतकार निलमले यही ट्रेण्डलाई फलो गर्ने प्रयास गरेकी छन् ।

गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका निलमले भनिन्, ‘कोरोना महामारीपछि यो मेरो पहिलो गीत हो, जुन गीतको भिडियो आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छु ।’ गीतको शब्दमा नेपालीपन झल्काइएको छ भने संगीत सिर्जना र स्वरमा मीठास छ ।