नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने कार्यशाला

ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

यही १० बैशाखदेखि १२ बैशाखसम्म काठमाडौंमा नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो ।
कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको छ । बहसमा नेपाल र अफ्रिकाबाट आएका सिनेकर्मीहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आफुहरुले आयोजना गर्दै आएको बताएकी छिन् ।
गत डिसेम्बरमा हुनु पर्ने यो महोत्सब कोभिड १९ कै कारण बैशाखमा आयोजना गर्न लागिएको हो । मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ । अफ्रिकी मुलुकका सिनेमा निर्माण शैली र नेपाली सिनेमा निर्माण सैली, नेपाली सिनेमामा सांस्कृतिक अबस्थालगायतका विषयमा पनि बहस हुने भएको छ । महोत्सबको अन्तिम दिन १२ बैशाख विहान १०ः३० बजेबाट दिउँसो ३ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रको बारे बहस हुने पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।
नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र रहेका छन् ।

यसपटक नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजँग रावलको सम्साया, सजल लोप्चनको गाईड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाईनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् ।

यसैगरी नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् ।

महोत्सबका बाँकी चलचित्रहरु अफ्रिकी मुलुकबाट चयन भएका हुन् । जसमा जिम्वावेबाट गुड म्यान,थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् । यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ÷चिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।

महोत्सबमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सब, अफ्रिकी पहिरन प्रदर्शन,नेपाली र अफ्रिकी साँस्कृतिक झाँकी प्रस्तुत हुने पनि बताईएको छ ।