ब्युटी न्युज नेपाल
काठमाडौं, २३ चैत

नेपाल चलचित्र निर्देशक समाजले काठमाडौँमा एक समारोह आयोजना गर्दै ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आतिथ्यमा चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई चलचित्र सर्जक सम्मान गरियो ।

समारोहमा युवा चलचित्र निर्देशक सम्मानमार्फत निर्देशक ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो । लाइभफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित निर्देशक हेमबहादुर लामाले नीजि क्षेत्रबाट चलचित्र बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

समारोहमा समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरियो । समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ । आफूले अक्षयकोषमा सहयोग गर्न नपाएकोमा दुखी हुँदै वरिष्ठ निर्देशक नीर शाहले फिल्मकर्मी अझै व्यवसायिक बन्न नसकेको धारणा व्यक्त गरे । निकै व्यवस्थित र साजसज्जा सहित आयोजना गरिएको उक्त कार्यक्रममा निर्देशक समाजको सदस्यहरुलाई अबदेखि सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।

समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरिरहनु भएको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीलाई दोसल्ला ओढाएर वधाइ ज्ञापन गरिएको थियो ।