‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्य सर्वोत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन) ले बिगत झैं यसपटक पनि फेशन डिजाईन प्रतियोगिता आयोजना गरेको छ । तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधिसँग्ै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को, ललितपुरमा रहेको केज फिटनेश सेन्टरको तर्फबाट २५ हजार रुपैयाँ बराबरको फिटनेस प्याकेजसमेत जितेकी छिन् ।

यो प्रतियोगितामा डिजाइनरहरु आफैंले तयार पारेका पहिरनमा र्याम्पमा प्रस्तुत भएका हुन् ।त्यस क्रममा अधिकांश डिजाइनरहरुले आफ्नो पहिरनलाई उत्कृष्ट बनाउने सक्दो प्रयास गरेका थिए । यो डिजाइनर कन्टेस्टका प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन् ।

यस्तै प्रतियोगितामा फर्स्ट रनर्स अपको उपाधि उमा राइका मगरले जित्न सफल भइन् । मगरले उपाधिसहित १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरको तर्फबाट १७ हजार रुपैयाँ बराबरको फिटनेश प्याकेजसमेत पाएकी छिन् । प्रतियोगितामा राजन कुमार शाहले पाँच हजार रुपैयाँ नगद राशिसहित सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भए । उनले उपाधिसहित केज फिटनेश सेन्टरबाट दश हजार रुपैयाँ बराबरको फिटनेस प्याकेज समेत पाएका छन् ।

उनी प्रतियोगिताका एक मात्र पुरुष फेसन डिजाइनरको रुपमा प्रतिस्पर्धि बनेका थिए । प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनरका ९८ जना फेसन डिजाइनरका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

विपना थापाद्वारा कोरियोग्राफी गरिएको उक्त डिजाइनर प्रतियोगितामा मिस नेपालका आयोजक दिवाकरराज राजकर्णिका, समाजसेवी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, फेसन डिजाइन निभा श्रेष्ठ, सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फोटो पत्रकार हरिगोपाल प्रधान, पर्यटन व्यवसायी मिलन शाक्य आदि निर्णायकको रुपमा रहेका थिए ।

प्यासिफिक इभेन्ट म्यानेज्मेन्टले व्यवस्थापन गरेको तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त कार्यक्रममा गायक लाक्पा शेर्पाले आफ्नो सांगीतिक प्रस्तुत दिएका थिए भने विभिन्न कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

उक्त प्रतियोगिताको प्रमुख अतिथिमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछ्यों थिए । फेशन डिजाईनको ग्राण्ड फिनालेमा विद्यार्थीहरुको प्रस्तुतति सोचे भन्दा उत्कृष्ट भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले प्रतिक्रिया दिएका छन् । बागबजार प्लाजा तथा मानभवन, ललितपुरमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।