चलचित्र पत्रकार संघको वार्षिक साधारणसभा सम्पन्न


ब्युटी न्ँयुज नेपाल
काठमाडौं, ४ चैत

चलचित्र पत्रकार संघ नेपालले काठमाडौंमा आफ्नो २१ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा सभा सम्पन्न गरेको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननिय सुचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङ, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्रेस काउसिलका सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा लगायत थिए ।

कार्यक्रममा मन्त्री गुरुङले नेपाली चलचित्रको अबस्था बिस्तारै राम्रो हुँदै जाने विश्वास व्यक्त गरे । नेपाली चलचित्रको विकाशमा चलचित्र पत्रकारको महत्वपूर्ण भूमिका रहेको कथन मन्त्री गुरुङको थियो ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दाहालले संघलाई २१ औ वार्षिक साधारण सभाको शुभकामना दिँदै बोर्डले संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

संघका अध्यक्ष दिनेश सिटौलाले संघले चलचित्र पत्रकारिता गरिरहेका पत्रकारलाई संगठित गर्दै नेपाली चलचित्र, मनोरञ्जन र कला साहित्य क्षेत्रको प्रवद्र्धनका लागि सशक्त रुपमा कलम चलाउँदै आएको बताए । समग्र मनोरञ्जन क्षेत्रलाई मर्यादित र समाजसँग जोड्न चलचित्र पत्रकारले विशेष भुमिका खेल्दै आएको उनको भनाई छ ।

सभामा संघका महासचिब समिर बलामीले महासचिबको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । यस्तै संघका कोषाध्यक्ष प्रदीप कार्कीले वार्षिक आयव्यय सो कार्यक्रममा प्रस्तुत गरे ।

सभामा संघका संस्थापक तथा अग्रज र संघको विकाश र विस्तारमा विभिन्न भूमिका खेल्नेहरुलाई सम्मान गरियो । सभाबाट चलचित्र पत्रकार संघ नेपालको विधानमा पनि केही परिमार्जन गरियो ।

संघको २१ औं साधारण सभामा संघको केन्द्र सहित ९ ओटा शाखाका पदाधिकारी सहभागी थिए ।