बाल यौन शोषण बिरुद्ध दीपेन्द्रको सावधान


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ चैत

बालिबालिकामाथि हुने यौनजन्य हिन्साको पीडालाई लघू चलचित्रमा उतारिएको । वर्षा राउतको अभिनय रहेको लघू चलचित्र ’सावधान’ मा यस्तो कथा उतारिएको छ । यसलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको छ । यो सर्ट फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ । यसलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । लेखन पनि उनकै हो ।

स्क्रिप्ट पढ्ने बित्तिकै कथाले मन छोएको र आफू अभिनय गर्न तयार भएको वर्षा राउत बताउँछिन् । उनले थपिन्, ‘यस्तो संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शकसमक्ष पु¥याउनु कलाकारहरुको कर्तव्य हो । यो फिल्मले पनि यही उद्देश्य बोकेको छ ।’

अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए । ‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्छ ।’

सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंग फिल्ममा हेर्न पाइन्छ । वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन् । त्यस्तै बुवाको भूमिकामा प्रवीण खतिवडा छन् । आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि फिल्ममा अभिनय गरेका छन् ।

बालबालिकासम्बन्धी काम गर्ने कुनै एनजिओले निर्माण गरेको हो कि जस्तो देखिए पनि सावधान व्यक्तिगत लगानीबाट बनेको फिल्म हो । करिब १० मिनेट अवधिको फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । ‘घरभित्र हुने यौनदुव्र्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पिडकहरु झन् उत्साही हुनसक्छ, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ एक निर्माता फुर्वाले बताइन् ।

शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो । दर्शकहरुले फिल्ममा समेटिएको सन्देशको प्रशंसा गरिरहेका छन् ।

बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट सुरु भएको निर्मात्री फुर्वाले अवगत गराइन् । जनचेतनामूलक सिर्जनाहरु प्रस्तुत गर्दै जाने योजना यो अभियानको रहेको छ ।