ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट नेकपा (माओवादी केन्द्र)ले ती सबै नेतालाई माओबादी केन्द्रमा फर्कन निर्देशन दिएको छ ।

माओवादी केन्द्रले सरकारमा रहेका गृहमन्त्री बादल सहित उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाईमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा, श्रममन्त्री गौरीशंकर चौधरी सहित २३ जना नेताहरुलाई नै पार्टी फर्कन निर्देशन दिएको हो । माओबादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएपछि बादल सहित केही नेताहरु पार्टीमा फर्कन साल्लाह गर्दैछन् ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यँुताएपछि माधवकुमार नेपाल समूह एमालेमै सक्रिय भएका छन्, तर बादलसहितको समूह माओवादी केन्द्रमा फर्किएका छैनन् । पार्टी भित्रै बसेर नेपाल समुहले पार्टी अध्यक्ष ओली बिरुद्ध समानान्तर समिति शनिबार गठन गरेका छन् । यता शुक्रबार एमाले अध्यक्ष ओलीले आफ्नो समूहको बैठक राखेर बादलसहितका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्ज र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएका छन् ।

माओबादी केन्द्रबाट साँसद बनेर पार्टीको पद समेत परित्याग नगरी ओलीको मन्त्रीसँगै केन्द्रिय सदस्य बनेको भन्दै माओबादी केन्द्रले यी नेताहरुलाई पार्टीमा फर्कन निर्देशन दिएको हो । बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । ५ मन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।