ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो बनाउन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव नेपाल पक्ष लागिरहेको बेला यो दुबै पक्षबाट नेकपा खोसिएको छ । सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी फेरी ऋषी कट्टेलकै पक्षमा गएको छ । यो निर्णयसँगै सर्वोच्चले यस अघिको नेकपा एमाले र नेकपा माओबादी (केन्द्र)लाई पनि पुन ब्युँताएको छ ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्र एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) निर्वाचन आयोगमा दर्ता भएपछि कट्टेलले नेकपा आफ्नो पार्टी भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो । कट्टेलकै पक्षमा आज फैसला भएपछि ओलीसँगै दाहाल पुरानै पार्टीका हैसियतमा पुगेका छन् । सर्वोच्चको आईतबारको फैसलामा यस्तो लेखिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ ।’

ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको निर्वाचन आयोगले जनाएको छ । यस्तो तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा नै दर्ता गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्ने ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।