कमेडी च्याम्पिएन २ को तयारी धमाधम


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

कमेडी च्याम्पियनको सफलता पछि कमेडी च्याम्पियन सिजन– २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनबाट प्रशारण सुरु हुनेछ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यस सिजन गत सिजनभन्दा भव्य हुने दावी गर्छन् । गत वर्ष आर्थिक रुपले पनि केही समस्या झेल्नु परेकाले धेरै कुराहरु गर्न नसकिएको भण्डारीको गुनासो छ ।

उनले भने, ’गतवर्ष हामीलाई आर्थिक रुपमा पनि धेरै समस्या प¥यो । जसको कारण कतिपय सपनाहरु पूरा हुन सकेनन् । यस वर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन । अब ढुक्क रुपमा कन्टेन्टमा काम गर्न पाउनेछौँ । ‍गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौँ ।’

यस वर्ष प्रतियोगीहरुलाई पनि धेरै मिहिनेत गराइएको निर्देशक भण्डारी बताउँछन् । उनले थपे, ’गतवर्षका प्रतियोगीहरुले भन्दा यस वर्षका प्रतियोगीहरुलाई हामीले धेरै मिहिनेत गराइरहेका छौँ । यसको एउटै उद्येश्य भनेको शोलाई राम्रो बनाउने हो ।’

कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताउँछन् । ’कमेडी च्याम्पियन अर्गानिक शोको रुपमा स्थापित भएको छ । यस अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौँ’, दिनेशले भने, ’५ वर्षमात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ ।’

कार्यक्रममा विज्ञापन कम्पनी ’एडी रिलिज’ले विभिन्न आयोजक तथा प्रयोजकहरुसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो ।

कमेडी च्याम्पियन–२ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।

कमेडी च्याम्पियनका जजहरूमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रुपमा रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन् ।

’थ्रि प्रोडक्सन’ले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।