गायिका अन्जु र सञ्चारकर्मी थिर दाम्पत्य जीबनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

गायिका अन्जु पन्त अन्नत वैवाहिक सम्बन्धमा पुन बाँधिएकी छिन् । सञ्चारकर्मी थिर कोईरालासँग उनी दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् । आफुहरुबीचको आठ वर्ष लामो चिनजान र एक वर्षदेखिको प्रेम सम्बन्धलाई सार्थक तुल्याउँदै उनी दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् ।

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै आएकी गायिका अन्जुले सामाजिक कार्यमै सक्रिय थिरसँग सामान्य रुपमा विवाह गरेकी छिन् । क्रिश्चियन धार्मिक विधि अनुसार यी दुईले मँगलबार अपरान्ह चर्चमा प्राथना गरेर विवाह रीतिसम्पन्न गरेका हुन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले जावलाखेलमा रहेको एक चर्चमा बिहे गरेका हुन् । आफ्ना परिवार र सिमित आफन्तको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । सामान्य शैलीमा विवाह गरेका यी जोडीले आफुहरुको विवाहको फजुल खर्च सामाजिक कार्यमा प्रयोग गर्ने बताएका छन् ।

विवाहमा अन्जु पन्तलाई उनकी छोरीले बेहुली बन्न सघाएकी थिईन् । छोरी र परिवारको चाहना र उनीहरुको सल्लाह बमोजिम आफु पुन दाम्पत्य सम्बन्धमा बाँधिएको अन्जुले बताएकी छिन् । यस अघि अन्जुको गायक मनोजाराजसँग विवाह भएको थियो । करिब एक दशक लामो दाम्पत्य सम्बन्ध टुटेपछि अन्जु पुन दाम्प्त्य सम्बन्धमा बाँधिएकी हुन् । अन्जु र थिरलाई सफल दाम्पत्य जीबनमा शुभकामना ।