फूल भन्दा कोमलमा विकेश र प्रियंकाको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

केही समयको अन्तरालपछि नायिका प्रियंका कार्की पूनः एक शानदार म्युजिक भिडियोमा देखिएकी छिन्। प्रियंका फूल भन्दा कोमल बोलको गीतको शानदार म्युजिक भिडियोमा देखिएकी हुन्।

म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छिन्। प्रियंकाले विकेशको जोडी बनेर अनस्क्रिन रोमान्स गरेकी छिन्। यो रोमान्टिक म्युजिक भिडियोमा प्रियंका र विकेशको जोडी सुहाउँदो पनि देखिएको छ।

विभिन्न फिल्म तथा म्युजिक भिडियो मार्फत आफ्नो कला देखाउँदै आएका विकेश लामो समयदेखि अभिनय, नृत्य, क्षमता अभिवृद्धीजस्ता कलाकारिताका लागि आवश्यक पर्ने विभिन्न विधाको तालिम र प्रशिक्षणपश्चात पूनः म्युजिक भिडियोमा देखिएका हुन्। उद्घोषण कलामा समेत उत्तिकै पारंगत उनले नायिका कार्कीसँग जोडी बाँधिएर म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्न पाउनुलाई राम्रो अवसरको रुपमा लिएको बताए। त्यसै गरी नायिका कार्कीले गीत मन परेपछि यो म्युजिक भिडियोमा काम गरेको जनाउँदै मेहनतअनुसार फूल भन्दा कोमल गीतको भिडियो उत्कृष्ट बनेको बताइन्।

म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देनमा बनेको छ। कविराजले यो गीतको म्युजिक भिडियोमा सधैंजस्तो दर्जनौं कोरस कलाकार राखेका छैनन्। बरु यसपटक पात्र र लोकेशन केन्द्रित भएका छन्। गहतराजले गीतको भावअनुसार प्रियंका र विकेशलाई म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् भने म्युजिक भिडियोलाई प्रेमिल ढंगले तयार पारेका छन्। म्युजिक भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ। हुस्सो लागेको समयदेखि मौसम खुलेको समयको चन्द्रागिरीसम्मको दृश्य कविराजले भिडियोमा प्रस्तुत गरेका छन्। ओम सुनारको शव्द रचना र संगीत रहेको यो प्रेम गीत उनको साथमा एलिना चौहानले गाएकी छिन् ।

हेराकुमार शाही (मगचा) द्वारा निर्मित म्युजिक भिडियोमा कोरियोग्राफी राकेश शाहीको रहेको छ। ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन र श्याम कुँवरको कलरिङमा तयार भएको छ।