विष्णुले उद्घाटन गरिन निशाको ‘निनिज् बुटिक’


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा नयाँ बुटिक सञ्चालनमा ल्याएकी छन् । प्रणय दिवशको एक दिनअगाडि सञ्चालनमा ल्याइएको सो बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य डिजाइनर निशाले लिएकी छन् ।

‘निनिज् बुटिक’को शनिबार एक समारोहबीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी छन् ।

बुटिक उद्घाटन गरेपछि अभिनेत्री तथा गायिका विष्णुले भनिन्, ‘यसरी बुटिकहरु खुल्दा खुसी लाग्छ ।’ आफू त्यतिधेरै फेसन कन्सस नभएपनि राम्रो लगाउन भनेपछि हुरुक्कै हुने विष्णुले सुनाइन् । निनिज बुटिकले नै तयार गरेको आफ्नो फेभरेट कलरको गाउनमा उपस्थित भएकी विष्णुले भनिन्, ‘म फेसनसम्बन्धी अलि फरक छु । मान्छेहरु फेसन भनेपछि ट्रेण्डलाई फलो गर्छन् । तर, म त्यो पक्षमा छैन ।’ ‘ब्ल्याक एण्ड ह्वाइट’ आफ्नो फेभराइट भएको भन्दै विष्णुले भनिन्, ‘हेर्दा नराम्रो देखिएपनि लगाएपछि सुहाउँछ भने मलाई मनपर्छ ।’

यसैबीच विष्णुले आफ्नो पेसाबारे भनिन्, ‘कोरोना संक्रमणका कारण सबै काम रोकिएको थियो । अब बल्ल नयाँ कामहरु सुरु गर्दैछु ।’
‘फेसन डिजाइनरप्रति पहिलेबाटै रुचि थियो’ डिजाइनर तथा बुटिककी सञ्चालक निशाले भनिन्, ‘तर, डिजाइनिङमा अलिक दक्ष भएरमात्रै खोलौँ भनेर बसेकी थिएँ । त्यसैले कोर्ष पूरा गरेर बुटिक सञ्चालनमा ल्याएकी हुँ ।’

बागबजारस्थित आईआईएफटी ‘इन्टरनेशलन इन्टिच्युट अफ फेसन टेक्नोलोजी’बाट फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेपछि निशाले ‘निनिज् बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरेर बुटिक सञ्चालन गर्ने निशा पछिल्लो डिजाइनर हुन् । यसअघि आईआईएफटीका दर्जन बढी विद्यार्थीले बुटिक सञ्चालनमा ल्याएका छन् ।

फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । ‘नेवारी भाषामा निनिज्को अर्थ पूपु हुन्छ’ उनले भनिन्, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज् राखेकी हुँ ।’ उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताइन् ।

निनिज्ले पनि अरु बुटिकहरुजस्तै गाउन, सारी, लेहेँगालगायत क्याजुअल परिहनलाई नै प्राथमकिता दिने उनको भनाइ छ । बुटिकले सर्वसुलभ मूल्यमा गुणास्तरिय पहिरन उपलब्ध गराउने निशाले बताइन् ।