ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ

नेकपा फुटे यता शक्ति प्रदर्शनको क्रम बढेको छ । प्रचण्ड र माधव नेपालको समुहले बिहिबार आम हड्ताल गरे लगत्तै शुक्रबार काठमाडौंमा नेकपा ओली समूहले शक्ति प्रदर्शन गर्यो । बिहिबारको बन्दको विरोध गरेका ओली समुहले शुक्रबार दरबार मार्ग क्षेत्रका सबै पसल बन्द

गराएर त्यहाँ आमसभा गरे । शक्ति प्रदर्शन गरे । त्यो सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे ।
सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’ ति सबैलाई तोडेर नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभामा जनताको भेल उर्लिएको ओलीले दाबी गरे ।

सो क्रममा उनले प्रचण्डको खुलेर विरोध गरे । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले केही गर्न नसक्ने दाबी उनले गरे । आफुहरु देशको समृद्धिका लागि हरेक कदम चल्न पछि नपर्ने पनि उनले बताए ।

नेकपा ओली समुहको शक्ति प्रदर्शनी भैरहँदा शुक्रबार काठमाडौं क्षेत्र पुरा अबरुद्ध भयो । बिहिबारको अम हडतालमा जस्तै शुक्रबार पनि आफुहरुले दुख पाएको काठमाडौं बासीको गुनासो सुनियो ।